काठमाडौं । बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता थपिएसंगै आज फेरि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ खिच्ने भएको छ ।राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि उक्त रकम खिच्न लागेको हो ।
यो १४ दिने निक्षेप संकलन उपकरणको असोज २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने पनि राष्ट्र बैंकले जनाएको छ । उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।
अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ।







