काठमाडौँ। अपि पावर कम्पनीले लाभांश संशोधन गरेको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गरेर वार्षिक साधारण सभा र बुक क्लोजको नयाँ मिति तय गरेको हो ।
कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घटाउने निर्णय गरेको हो। बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । यसअघि भने कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
जसलाई विद्युत् नियमन आयोगले अस्वीकृत गरेको थियो । साथै, बैठकले कम्पनीको २१ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। आगामी कात्तिक ११ गते आइतबारका दिन काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टलमा सभा आह्वान गरिएको हो ।
सभामा संशोधित लाभांश वितरणको प्रस्तावका साथै कम्पनीले सञ्चालन तथा विकास गरिरहेको आयोजनाहरूको लागि बैंक तथा वित्तीय संस्थाबाट लिने आवश्यक कर्जा अनुरूप तोकिएको सीमा भन्दा बढी रहेको हुँदा कर्जा अनुमोदन गर्ने तथा आयोजनाहरू निर्माणको लागि थप आवश्यक कर्जा लिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा कम्पनीको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमीटेडमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना (९.७ मेवा) निर्माण गर्ने, दार्चुला पावर कम्पनी लिमीटेडमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना (२८.३ मेवा) निर्माण गर्ने, अपिकै बहुमत सेयर स्वामित्व रहने गरी सूर्यकुण्ड हाइड्रो इलेक्टिक लिमीटेडमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजना (११ मेवा) को निर्माण अन्तिम चरणमा भइरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने लगायतका प्रस्ताव समेत छलफल गरी पारित गरिनेछ।







