काठमाडौँ । कोरोना महामारीकै समयमा खस्किएको घरजग्गा कारोबारले अझैसम्म लय समात्न सकेको अवस्था छैन। बजारमा देखिएको आर्थिक मन्दीको कारण घरजग्गामा सोचे अनुरूप कारोबार हुन नसक्दा यसबाट सङ्कलन हुने राजस्वमा समेत पनि कमी आएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को असोज महिनामा देशभरबाट ३० हजार पाँच सय २७ सङ्ख्यामा घरजग्गा कारोबार भएको छ। यो गत वर्ष असोजमा भएको कारोबारको तुलनामा २३.४५ प्रतिशतले कमी हो ।

गत वर्ष असोजमा ३९ हजार ८ सय ८१ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो। यस्तै, साउनमा ४३ हजार ८ सय ६५ लिखत पारित भएको थियो। गत आव सोही महिनामा ३९ हजार २ सय ६३ मात्रै लिखत पारित भएको हो। साउनमा अघिल्लो वर्षको तुलनामा बढेको लिखत पारित भदौमा भने गिरावट आएको थियो । गत वर्ष भदौमा ३५ हजार ६ सय ८६ लिखत पारित भएकोमा चालु आव ३२ हजार ७ सय ९८ मात्रै लिखत पारित भएको तथ्याकंमा उल्लेख छ ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीका अनुसार यस वर्षको दशैं असोज महिनामा भएको कारण कारोबार दिन पनि कम हुने भएकाले उक्त महिनामा कारोबार सहित राजस्व संकलनमा समेत कमी आएको उनको भनाई छ ।

गत वर्ष कात्तिकमा परेको दसैँ यस वर्ष असोजमा पर्‍यो । असोज अन्तिम साता दसैँले कार्यालय बन्द हुँदा त्यसको असर समेत देखियो । गत वर्ष असोजमा ३९ हजार ८ सय ८१ लिखत पारित भएकोमा यो वर्ष ३० हजार ५ सय २७ मात्रै पारित हुन आयो यसको सिधा असर राजस्व संकलनमा देखिन गएको छ । लोहनीले भने

असोजमा भएको घरजग्गा कारोबारबाट सरकारले तीन अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ । यो गत असोजमा प्राप्त राजस्वको तुलनामा एक अर्ब कम हो। गत वर्ष असोजमा चार अर्ब रूपैयाँ राजस्व प्राप्त भएको थियो। घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा सरकारलाई राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन ९दर्ता० दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।

चालु आवको साउनमा ३ अर्ब ८३ करोड ५१ लाख राजस्व संकलन भएको थियो । जुन गत वर्ष साउनमा संकलन भएको २ अर्ब ९१ करोड ४ लाखको तुलनामा धेरै हो । भदौमा पनि गत वर्ष ३ अर्ब ४ करोड ५९ लाख राजस्व संकलन भएकोमा चालु आव केही बढेर ३ अर्ब ९ करोड ३ लाख राजस्व संकलन भएको थियो । तर, असोजमा भने राजस्व उच्च दरमा घटेको छ ।

विभागको अनुसार असोजमा सुनसरी इनरुवा मालपोतबाट १ हजार १ सय ८५, धनुषा जनकपुरधाम मालपोत १ हजार १ सय ७, मोरङ बेलबारी मालपोत १ हजार १६, सप्तरी राजविराज मालपोत ९ सय ९, झापा भद्रपुर मालपोत ८ सय ६३, भक्तपुर मालपोत ८ सय २१, कपिलवस्तु तौलिहवा मालपोत ७ सय १८ तथा सर्लाही मलंगवा मालपोत र ललितपुर लगनखेल मालपोतमा ७ सय १० लिखत पारित भएको छ ।

असोजमा ३ अर्ब ८ करोड १२ लाख राजस्व संकलन भएकोमा सेवा कर २६ करोड ८१ लाख, रजिस्ट्रेसन दस्तुर १ अर्ब ९४ करोड ७६ लाख र पुँजीगत लाभकर १ अर्ब ११ करोड ६३ लाख छ । २७ करोड ८४ लाख राजस्व छुट दिएको विभागको तथ्यांक छ । असोजमा काठमाडौँ डिल्लीबजार मालपोतबाट सर्वाधिक ३० करोड ६६ लाख, ललितपुर लगनखेल मालपोत ३० करोड २६ लाख, भक्तपुर मालपोत २५ करोड ३९ लाख, काठमाडौँ चाबहिल मालपोत २३ करोड ६८ लाख र काठमाडौँकै कलंकी मालपोतबाट २० करोड ४८ लाख राजस्व संकलन भएको छ ।