काठमाडौँ । तिहारसँगै वा कुनै पनि चार्डपर्वसँगै जोडिएर आउने विषय हो तास । कानुनगत रूपमा बन्देज भएको भएपनि तिहार लगायतका चार्ड पर्वमा तासको अत्यधिक प्रयोग बढ्न जान्छ र यसको आयातमा अन्य समयको तुलनामा दोब्बर वृद्धि हुने गर्दछ ।
यस वर्षको तिहारअघि पनि नेपालमा पौने १२ करोडको तास भित्रिएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा उक्त रकम बराबरको तास नेपाल भित्रिएको हो ।
२०८१ को साउन, भदौ र असोज महिनामा ११ करोड ७७ लाख ५३ हजार रुपैयाँको तास नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ। उक्त मूल्यमा ३९ लाख ८५ हजार ६०३ प्याकेट तास नेपाल भित्रिएको छ । बितेको तीन महिनामा तासबाट ६ करोड ९५ लाख १७ हजार रुपैयाँ राजस्व सरकारले उठाएको छ ।
नेपालमा चीन, भारत, बेलायत र अमेरिकाबाट तार आउने गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा चीनबाट १० करोड ६३ लाख ९८ हजार रुपैयाँ र भारतबाट एक करोड १३ लाख ५० हजार रुपैयाँको तास नेपाल भित्रिएको छ ।
आर्थिक वर्षको तुलनामा यस वर्ष दुई करोड ७१ लाख ७९ हजार रुपैयाँ कमको तास नेपालले आयात गरेको छ । गत आर्थिक वर्ष २०८०र०८१ मा नेपालले ३२ करोड १८ लाख ८७ हजार रुपैयाँमा एक करोड ११ लाख ७२ हजार ३३७ प्याकेट तास आयात भएको तथ्यांकमा उल्लेख छ ।






