काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले एक साताको अवधिमा व्यापक निगरानी र कारबाही अभियान सञ्चालन गर्दै १३ हजारभन्दा बढी सवारी चालक तथा नियम उल्लङ्घनकर्तालाई कारबाही गरेको छ ।
वैशाख २९ गतेदेखि हालसम्म गरिएको कारबाहीबाट कुल १ करोड १८ लाख ६ हजार १३ रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
उपत्यकामा बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, ट्राफिक नियमको बेवास्ता तथा लापरबाहीपूर्ण सवारी सञ्चालनका कारण दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै प्रहरीले नियमित चेकिङ र विशेष अभियानलाई तीव्र बनाएको हो ।
प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ६२९ जना, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने १,०३६ जना चालक कारबाहीमा परेका छन् ।
यसैगरी रातो बत्ती काट्ने १,२८२, तीव्र गतिमा सवारी चलाउने ७७८, लेन मिच्ने ५४०, फुटपाथ अतिक्रमण गर्ने ६४०, ‘नो हर्न’ क्षेत्र उल्लङ्घन गर्ने १,६४६ तथा एकतर्फी सडकमा सवारी चलाउने ७६२ जना चालकलाई पनि कारबाही गरिएको छ ।
प्रहरीले राजस्व संकलनभन्दा बढी सडक सुरक्षा र दुर्घटना न्यूनीकरण आफ्नो मुख्य उद्देश्य रहेको स्पष्ट पारेको छ । विशेषगरी मापसे, तीव्र गति, मोबाइल प्रयोग गर्दै सवारी चलाउने तथा ट्राफिक संकेत उल्लङ्घन गर्ने कार्यविरुद्ध कडाइ गरिएको जनाइएको छ ।






