काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम हप्तादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टीतेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ ।

पेट्रोल, डिजेल र मट्टीतेल आयात गर्न सकिने गरी निर्माण गरेको संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको निगमको मधेश प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए । निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टीतेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ । अहिले ती संरचनाको गुणस्तर परीक्षणको काम भइरहेको छ ।

ट्याङकरको तुलनामा पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात गर्नु धेरै सुरक्षित मानिन्छ । पाइपलाइन परियोजनाको तेस्रो चरणअन्तर्गत अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन बिस्तार गर्ने योजना कार्यान्वयनका क्रममा छ ।
करिब ५ दशकदेखि सञ्चालित अमलेखगन्ज डिपो पूर्ण ‘अटोमेसन’ मा जाँदैछ । पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत डिपोमा पेट्रोल, डिजेल र मट्टिटेल भण्डारणका लागि ४ वटा नयाँ ‘भर्टिकल ट्यांक’ निर्माण गरिएका छन् । पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न २ वटा ‘ट्रान्समिक्स ट्रयांक’ र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ ।

ट्रक ट्यांकरमा इन्धन भर्नका लागि थप २४ वटा पूर्णस्वचालित ‘लोडिङ–वे’, अत्याधुनिक प्रयोगशालालगायत संरचना निर्माण गरी परीक्षण सम्पन्न गरिएको परियोजनाका इन्जिनियर प्रशान्त भट्टराईले जानकारी दिए । मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण प्रणालीलाई सुनिश्चित गर्न विसं २०३० मा अमलेखगन्ज डिपोको निर्माण सुरु गरिएको थियो । करिब ६७ हजार ७ सय २४ वर्गमिटरमा फैलिएको सो डिपो निर्माण सम्पन्न गरी २०३३ माघबाट सञ्चालनमा आएको थियो । यो देशकै सबैभन्दा ठूलो डिपोका रूपमा रहेको छ ।

अमलेखगन्जस्थित डिपोमा हाल १५ हजार १ सय १० किलोलिटर पेट्रोल, २४ हजार ८ सय १० किलोलिटर डिजेल र २ हजार दुई सय ७० किलोलिटर मट्टितेलको भण्डारण क्षमता रहेको छ । सरकारले सातै प्रदेशमा कम्तीमा ३ महिनाको माग धान्न सक्ने गरी भण्डारण क्षमता विस्तारको योजना अघि सारेको छ । सोही योजनाअनुसार निगमले हाल विभिन्न प्रदेशमा भण्डारण क्षमता विस्तारका कार्यक्रम अघि बढाइरहेको छ ।

पाइपलाइन परियोजनाको तेस्रो चरणअन्तर्गत अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने योजना कार्यान्वयनका क्रममा छ । लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार परियोजनामा सहयोग गर्न इण्डियन आयल कर्पोरेशसनको विज्ञ टोली नेपाल आएको छ ।