मानिसको आर्थिक तथा सामाजिक सुरक्षाको लागि जीवन बीमा अत्यावश्यक हुन्छ । तर पनि धेरै मानिसहरू बीमालेखको पहुँच बाट टाढा रहेका हुन्छन् । न्यून आय स्तर तथा वित्तीय साक्षरताको अभावका कारण पनि धेरै मानिसहरू बीमाको दायरामा आउन सकेका छैनन् । प्रायः धानिमानी तथा सबै खाले पहुँच भएका व्यक्तिले त कसैले नभने पनि बीमा गरेकै हुन्छन् ।
यस्तै मानव जीवनमा जुनसुकै वेला आई पर्ने विभिन्न किसिमका प्राकृतिक तथा अन्य विभिन्न खालका भवितव्यहरूको सामना पनि आय स्तर न्यून भएका मानिसहरूले नै बढी गर्नुपर्ने हुन्छ । त्यस कारणले कम आय तथा वित्तीय साक्षरताको कमी भएका मानिसहरूलाई बीमा गर्नको लागि अभिकर्ताले विशेष महत्त्व दिएर उनीहरूलाई बीमाको दायरामा ल्याउनुपर्ने धारणा चितवनको रत्न नगर ४ टाडीँकी कल्पना बिस्टले राख्ने गरेकी छिन् ।

चितवनको रत्न नगर ४ टाडीँ मै जन्मेर त्यहाँकै सहिद स्मृति बहुमुखी क्याम्पसबाट अङ्ग्रेजी विषयमा स्नातक तहसम्मको अध्ययन पुरा गरेकी कल्पना आफ्नो सुन्दर भविष्य खोज्दा खोज्दै बीमा अभिकर्ता पेसामा जोडिन पुगेकी थिइन् ।
देशमा सञ्चालित विभिन्न एनजिओ तथा आइएनजीओहरुमा काम गरेकी कल्पना केही समयअघि साथीहरूले भनेको मानेर सपनाको खोजीमा समुद्र पारीको देश साइप्रस सम्म पनि पुगेकी थिइन् । जिन्दगीका करिब ३ वसन्त विदेशी भूमिमा बिताएकी कल्पनाले साइप्रसबाट फर्केपछि आफ्नै घरमा ट्युसन सेन्टर चलाएर गाउँका बालबालिकाहरूलाई पढाउने काम सुरु गरिन् ।
त्यसै बेलामा आफूसँगै अध्ययन गरेको एक जना साथी सानिमा रिलायन्स कम्पनी रत्न नगर शाखामा शाखा प्रमुख बनेर आएपछि उनलाई पनि यो पेसामा जोडिन मन लागेको थियो । अभिकर्ता पेसामा जोडिएका सुरुवाती दिनहरूमा काम गर्न अलि गाह्रो भए पनि सामाजिक कार्य गर्न मन पराउने खालको स्वभाव भएकोले बिस्तारै यहीँ पेसामा अभ्यस्त हुँदै गएको उनी बताउँछिन् ।

सन् २०२० देखी अभिकर्ता पेसामा जोडिएकी कल्पनाले हालसम्म साना ठुला गरी करिब ३ सय मानिसको बीमा गराइसकेकी छिन् । आफूले धेरै ठुलो रकमका पोलिसीहरु बेचेर धेरै कमाउने कोसिस नगरेको उनको भनाई छ ।
विदेशी भूमिमा गएर नेपाली दाजुभाइ अझ बिशेषगरी महिला दिदीबहिनीहरूले गरेको मिहेनत र पसिनाको कमाइलाई सही ठाउँमा लगानी गर्नका लागि सुझाव दिँदै सानो सानो रकमका पोलिसीहरु आफूले बेच्ने गरेको उनले आर्थिक भ्वाइससँगको कुराकानीको क्रममा सुनाइन् ।
‘बिमाको पहुँचमा नभएका र ठुलो पोलिसीको बीमा गर्नका लागि सामथ्र्य नभएका व्यक्ति, जसलाई पशुपालन, औषधि उपचार, व्यवसायसँगै बालबालिकाको भविष्यको चिन्ता सधैँ हुने गर्छ त्यस्ता व्यक्तिहरूलाई पछि गएर राहत मिलोस् भनेर सानो सानो रकमका पोलिसीहरु मैले बच्ने गर्छु ।’
उनले अगाडी थपिन्, ‘अझ खास गरी म आफै पनि विदेशी भूमिमा गएर त्यहाँको दुख बुझेको भएर उनीहरूको कमाइले आज मात्र नभएर भोलीका दिनमा अकस्मात् आइपर्ने भवितव्यको जोखिम वहनसँगै बचत पनि हुने भएकोले म उनीहरूतिर बढी केन्द्रित हुने गर्छु ।’
धानिमानी तथा शिक्षित व्यक्तिहरूले त बीमा आफै गर्न सक्ने भएकोले उनीहरूलाई त बीमा गर्नका लागि भन्नै नपर्ने उनको बुझाइ छ । यस्तै श्रमिक तथा मजदुरी क्षेत्रका मानिसहरूमा बीमाको धेरै भन्दा धेरै पहुँच पुराउनुपर्ने उनी बताउँछिन् ।
अहिले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको रत्न नगर शाखामा एजेन्सी चिफ म्यानेजरको रूपमा काम गरिरहेकी कल्पना कुनै पनि काम गर्नका लागि लगनशीलता, धैर्यता र मिहेनत चाहिन्छ भन्ने मान्यता राख्छिन् ।

पूर्ण रूपमा बीमा अभिकर्ता पेसामा लागि पर्ने हो भने पैसा कै लागि विदेश जानु नपर्ने उनको भनाई छ । विदेशमा गएर कमाउनुभन्दा नेपालमै अभिकर्ता बनेर सजिलैसँग परिवार पाल्ने गरी पैसा कमाउन सकिने उनी बताउँछिन् ।
बीमा अभिकर्ता भएर काम गर्दै गर्दा उनले हालसम्म कम्पनीबाट धेरै प्रोत्साहन स्वरूप धेरै सम्मान तथा पुरस्कारका साथै दुवै देखि सिंगापुरसम्मको भ्रमण समेत गरिसकेकी छन् । यस्तै उनी सन् २०२१ देखी ४ पटक अभिकर्ताहरूको अन्तर्राष्ट्रिय सङ्गठन एमडीआरटीको सदस्य समेत भइसकेकी छिन् ।
सानिमा रिलायन्स इन्स्योरेन्स जीवन बीमाको क्षेत्रमा सबैभन्दा कान्छो बीमा कम्पनीको रूपमा रहेको भए पनि यसले छोटो समयमै धेरै मानिसको विश्वास जित्न सफल भएको उनको दाबी छ । यस्तै नेपालको हकमा अझै पनि धेरै मानिसहरू बीमाको बारेमा अनविज्ञ नै रहेकोले यसको बारेमा धेरै कुराहरू बुझाउनु जरुरी रहेको उनको भनाई छ ।
बीमा भनेको निम्न आय स्तर भएका व्यक्तिहरूले जीवनमा आइपर्ने विभिन्न किसिमका क्षतिको न्यूनीकरणसँगै आर्थिक बचत गर्ने माध्यम हो भनेर अझै पनि धेरै मानिसले बुझ्न नसकेको उनको भनाई छ ।
‘नेपाली समाजमा अझै पनि बीमा साक्षरता धेरै न्यून छ । यस्तो अवस्थामा अभिकर्ता बनेर काम गर्न थोरै समस्या हुन्छ । तर पनि नआत्तिएर धैर्यतापूर्वक काम गरेमा पक्कै सफल भइन्छ ।’ कल्पनाले बीमा अभिकर्ता क्षेत्रमा आउन चाहने नयाँ अभिकर्ताहरूलाई सुझाव दिइन् ।
यस्तै बीमा भनेको मानव जीवनको लागि अत्यावश्यक कुरा भएकोले हरेक मानिसले अनिवार्य रूपमा बीमा गराउन पनि उनको सुझाव छ ।







