काठमाडौँ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिनेक्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले आज (पुष २१) गते ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। पुस लागेपछि यो छैटौँ पटकको तरलता खिच्न लागेको हो।
केन्द्रीय बैंकले उक्त अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट उक्त रकम बराबरको तरलता खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।
यो २१ दिने निक्षेप संकलन उपकरणको माघ १३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।







