काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कुल वस्तु निर्यात १६.५ प्रतिशतले वृद्धि भई
रु ७३ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो।

केन्द्रीय बैंकले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको वित्तीय विवरण अनुसार गन्तव्यका आधारमा भारत र चीनतर्फको निर्यात क्रमशः २३.७ प्रतिशत र ६८.९ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फ भएको निर्यातमा १.२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड, ऊनको गलौँला लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोसाक, जडीबुटी लगायतका वस्तुको निर्यात घटेको छ।

निर्यात आयात व्यापार घाटा

आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कुल वस्तु आयात ३.० प्रतिशतले वृद्धि भई रु ६६१ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.४ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः ४.० प्रतिशत र ४.६ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा १.८ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, कच्चा भटमास तेल, स्पन्ज आइरन, लसुन, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, केराउ, अलकत्रा लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, विराटनगर, वीरगंज, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, विराटनगर, वीरगंज, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

पाँच महिनामा कुल वस्तु व्यापार घाटा १.५ प्रतिशतले वृद्धि भई रु ५८७ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ३.१ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।