काठमाडौँ । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गैर कानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा बस्नेतविरुद्ध अख्तियारले ८ करोड ६९ लाख बिगो मागवादी सहित मुद्दा दायर गरेको हो। अख्तियारले मोहन सहित उनकी पत्नी उर्मिलामाथि पनि मुद्दा दायर गरेको छ।
आयोगले प्रमुख बस्नेतले पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरीपछि अनुसन्धान गर्दा बस्नेत र उनका एकाघर परिवारका सदस्यले ८ करोड ६९ लाख ८७ हजार १०५ रूपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको देखिएकाले मुद्दा दायर गरेको विज्ञप्तिमार्फत उल्लेख छ ।
बस्नेत र उनको परिवारले अनुसन्धान अवधिमा २८ करोड ६५ लाख ६१ हजार ९६७ रूपैयाँ खर्च तथा लगानी गरेको जाँच अवधिको कूल समग्र आयबाट त्यसै अवधिको कूल खर्च तथा लगानी घटाउँदा ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको आयोगले जानकारी दिएको छ ।
यसअघि पुस १४ गते अख्तियारले २२ करोडभन्दा बढी बिगो दाबीसहित घुस तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा बस्नेत, उनकी पत्नी उर्मिला र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेलका साथै पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालि प्रतिवादी छन्।







