बिकसित देशहरुमा जीवन बिमाका नयाँ नयाँ अवधारणहरु समयानुसार प्रयोग, परिमार्जन र परिष्कृत हुदै गएका छन । नयाँ बिधि र प्रबिधिहरुका आधारमा ग्राहक केन्द्रित नीति, तथा नविनतम आर्थिक संरचनाहरुलाई ध्यानमा राखेर जीवन बिमा कम्पनीहरुले बिभिन्न सिद्धान्तहरु अपनाईरहेका छन् ।

नेपालमा पनि जीवन बिमा कम्पनीहरुले त्यस्ता प्रकारका प्रबिधि र बिधिका नयाँ सिद्धान्त अपनाए ब्याक्तिगत स्तरदेखि आर्थिक तथा सामाजिक प्रणालीलाई समेत सकारात्मक प्रभाव पार्ने देखिन्छ । तर नेपालमा त्यस्ता नयाँ बिधि र प्रणाली को प्रयोग भएको खासै पाईदैन यसको मतलव नेपालका जिवन बिमा कम्पनीहरुले त्यस्ता नबिनतम अवधारणाहरु अवलम्वन गरेको देखिदैन उनिहरु अहिले पनि परम्परागतशैली मै जिवन बिमा ब्यवसायको निरन्तरतामा छन् ।

नेपालमा जीवन बिमाको दायरा फराकिलो नहुनुको प्रमुख कारण भनेको नै नयाँ डिजिटल प्रबिधिका अवधारणलाई प्रयोगमा ल्याउन नसक्नुनै हो । डिजिटल प्रबिधिको प्रयोगवाट बिमाको आवेदन, बिमाशुल्क भुक्तानी, दाबि भुक्तानी लगायतका कार्यलाई सहज मात्र होईन ग्रामिण भेगका मानिसहरुलाई सहज रुपमा बीमामा पहुँच दिलाउने छ । नेपालमा जीवन बीमाका नबीनतम अवधारणहरुले सामाजिक सुरक्षा, आर्थिक बृद्धिलाई प्रवद्र्धन, बित्तिय समावेसिकरण तथा आधुनिक प्रबिधिको उपयोग बृद्धि गर्न मद्दत गर्नाका साथै सर्वसाधारण जनताको बित्तिय सुरक्षामा पनि ठुलो सुधार आउनेछ । नेपालमा जीवन बीमाका नवीनतम सिद्धान्त तथा अवधारणहरुले ग्रामिण भेगका नागरिकदेखि ठुला ब्यवसायहरुमा लाभ पुग्ने देखिन्छ र अधिक जनसंख्यालाई बीमाको पहुँचमा ल्याउनुका साथै स्वास्थ्य तथा बित्तिय सुरक्षा र देशको अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान बृद्धि हुनेछ ।

बिश्वब्यापिरुपमा प्रयोग भएका नयाँ तथा ब्यवहारिक अवधारणा :

१.ब्यवहार मा आधारित बीमा ( Behaviior-Based Insurance –BBI ): यस अवधारण अन्तर्गत ग्लोबलरुपमा ब्यक्तिको जीवनशैली,स्वास्थ्य, तथा चालचलन अनुसार बीमा शुल्क निधारण गरिन्छ यस किसिमको अवधारणालाई नेपालमा पनि केहि हद सम्म प्रयोग भएको पाईन्छ । जोखिमांकन गर्दा जीवन बिमाका आधारभुत सिद्धान्त लाई प्रयोग गर्ने र स्वास्थ परिक्षणको माध्यम बाट जोखिमांकन गर्ने आवश्यक कागजी डकुमेण्ट प्रयोग भएता पनि आधुनिक डिभाईस तथा फिटनेस टयाकरहरुवाट डाटा संकलन गर्ने र नियमित ब्यायाम,स्वास्थ्य खानपान गर्ने ग्राहकलाई बिमाशुल्कमा छुट दिने अभ्यास नेपालमा छैन यस्तो अवधारणाको अभ्यास बेलायत, दक्षिण अफ्रिका तथा अमेरिकामा भएको पाईन्छ । जहाँ ग्राहकको फिटनेश डेटा अनुसार छुट वा बोनस पाउछन ।

२. डिजिटल बीमा (-Insurtech and Digital life insurance) अमेरिका तथा युरोपका कतिपय जीवन बिमा कम्पनी हरुले AI र ब्लकचेन प्रबिधिको प्रयोग गरि छिटो तथा पारदर्शी सेवाबाट केहि सेकेण्डमै दाबी स्वीकृत गर्ने देखि लिएर बिमाका अन्य कामलाई Smart Contracts  मार्फत बीमा सेवा प्रदान गर्ने सिद्धान्त अपनाएको पाईन्छ भने नेपालमा हाल सम्म कुनै पनि जीवन बिमा कम्पनीले यस्ता डिजिटल प्रबिधि प्रयोगमा ल्याएको पाईदैन ।

३. अन डिमाण्ड बीमा (On Demand Insurance) यस्ता प्रकारका जीवन बीमाका अवधारणामा जव मानिसलाई जीवन बीमा आवश्यक हुन्छ त्यतिबेला मात्र मानिसले बीमा कभरेज लिन या थप्न सक्ने बिमा योजनामा ग्राहकले आवश्यक परेका बेला बीमा सक्रिय गर्न र बन्द समेत गर्न सक्छ । यस्ता खालका योजनाका कभरेजहरु छोटा अवधिका लागि हुने गर्छ । मोवाईल एप तथा स्मार्ट फोनमार्फत बीमा खरिद गर्न सकिन्छ तथा बिमा शुल्क भुक्तानी समेत सोहि माध्यमबाट हुने गर्छ । अस्टेलिया, बेलायत तथा अमेरीकाका केहि जिवन बिमा कम्पनीले यस्तो खालको जीवन बिमालाई प्रयोगमा ल्याएको पाईन्छ भने नेपालमा यस्ता खालका जीवन बिमाका अवधारणा र योजना छैन ।

४.युनिभर्सल लाईफ इन्स्योरेन्स (Universal Life Insurance) बीमा कभरेज र लगानीको संयोजन जसले ग्राहकलाई बचत तथा जीवन सुरक्षा दुवै प्रदान गर्ने गर्छ । नेपालमा प्रचलित जिवन बीमा योजना यहि सिद्धान्तमा आधारित योजनाहरुनै बढि छन । यस्ता खालका बीमा योजनामा उच्च लचिलोपन प्रिमियम तथा कभरेज परिमार्जन गर्न सकिन्छ ।

५. पे एज यु लाईभ अवधारणा (Pay-As -You- Live) यस अवधारणमा ग्राहकको जीवन शैलि, जोखिमस्तर तथा स्वास्थय अवस्थाका आधारमा बीमा शुल्क निधारण गरिन्छ तथा सो को आधारमा बोनस समेत निर्धारण गरिन्छ । तर ग्राहकले आफु निरोगिता भएको पुष्टि भने प्रबिधिको माध्यम बाट गर्नु पर्ने छ अर्थात बिमितले स्मार्ट फिटनेस ट्याकरबाट आवश्यक प्रमाणहरु पेश गर्नु पर्छ ।

६. ब्लकचेन र स्मार्ट अनुवंध (Blockchain & Smart Contracts in Insurance) बिमा प्रक्रियालाई छिटोछरितो तथा पारदर्शि बनाउनका साथै बीमा दस्तावेज लाई सुरक्षित राख्न र गलत दावी Fraud रोक्न यो सिद्धान्तको प्रयोग फ्रान्स लागायतका युरोपेलि देशले प्रयोग गरेको पाईन्छ ।

७. पारिवारिक तथा सामुहिक जीवन बीमा (Group & Family Insurance Plans) अमेरिका लगायत केहि एसियालि देशहरुले संस्थागत तथा पारिवारिक सिद्धान्तमा आधारित बिमा योजना ल्याएको पाईन्छ यसमा एकै परिवार वा समुहका सवै सदस्यका लागि जीवन बिमा योजना दिने गरेको पाईन्छ । बिश्वब्यापि रुपमा जीवन बीमाका सिद्धान्तहरु डिजिटलाईजेसन, ग्राहक केन्द्रित सेवा, तथा स्वास्थ्यमा आधारित संरचनामा केन्द्रित छन जसका कारण जिवन बिमा सम्वन्धि अवधारणहरु स्मार्ट बन्दै गएकाछन। नेपालले पनि माथिका सिद्धान्तहरुलाई समायानुसार अपनाएर जीवन बिमा क्षेत्रमा सुधार ल्याउन सक्ने,पहुँच बढाउन तथा ग्राहकलाई अझ राम्रो सेवा दिन सक्ने छ । नबिनतम बिमा सिद्धान्तहरुलाई आत्मसाथ गदै अगाडी बढेमा नेपाली जीवन बीमा क्षेत्रमा निम्नालिखित सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

१.ग्राहकको पहुँच र वीमा कभरेज बृद्धि: निम्न आय भएका ब्यक्तिहरु समेत बीमाको डिजिटल प्रबिधिको प्रयोग बाट सजिलै आफ्नो पहूँच स्वीकार्न सक्छन ।
२. बीमा प्रक्रियामा सहजता र पारदर्शिता: बिभिन्न प्रबिधि र सिद्धान्तका प्रयोग तथा कृत्रिम बुद्धिमत्ता ब्क्ष् को प्रयोग प्रयोगले गलत बिवरण तथा बीमा ठगी नियन्त्रण गर्न सहयोग गर्दछ ।
३. बीमा उधोगमा प्रतिस्पर्धा बृद्धि : नयाँ प्रबिधि तथा ग्राहक केन्द्रित योजनाहरु आएपछि बीमा कम्पनी बिच प्रतिस्पर्धा बढ्ने छ जसका कारण बीमा सेवामा गुणस्तरमा ग्राहकले राम्रो बिकल्प पाउनेछन ।
४. आर्थिक बृद्धिमा योगदान : उच्चतम प्रबिधिको प्रयोग बाट र नयाँ अवधारणा बाट आएका बिमा योजनाहरुमा धेरै मानिस हरु सहभागी हुने र वीमा क्षेत्रबाट संकलित कोष बिभिन्न दिर्घकालिन लगानीमा परिचालन गरि देशको आर्थिक बृद्धिलाई टेवा पुग्नेछ ।

५.स्वास्थ्य र जीवनशैलिमा सुधार : स्वास्थ्य तथा स्वास्थ जीवनशैलिमा आधारित बीमा योजनाले मानिसलाई स्वास्थ आदत अपनाउन प्रेरित गर्नेछ । फिटनेश ट्रयाकर र मेडिकल डाटाका आधारमा बिमा शुल्कछुट तथा बोनस उपलब्ध गराउदा स्वास्थ जीवनशैली अपनाउने प्रवृतीको बिकास हुनेछ ।

.प्राकृतिक तथा सामाजिक जोखिम ब्यवस्थापनमा सहयोग : बिश्वमा जलबायु परिवर्तन तथा अन्य जोखिम न्युनीकरणका लागि ग्रीन इन्स्योरेन्स र सस्टेनेवल इन्स्योरेन्स प्रभावकारी हुने छ जसबाट समाजका बिभिन्न बर्ग जस्तै महिला, अपांगता भएका ब्यक्ति तथा साना ब्यवसायीहरुलाई लक्षित बीमा योजनाले समावेशी आर्थिक बिकासलाई प्रवद्र्धन गर्नेछ ।

७. बिमा शिक्षामा सुधार: डिजिटल प्रबिधिको माध्यमबाट बीमा सचेतना अभियानहरु संचालन गर्दा मानिसमा बीमा सम्वन्धि ज्ञान वृद्धि हुन्छ र बित्तिय साक्षरता सम्वन्धि चेतनाले जीवन बीमा भविष्यको राम्रो आर्थिक सुरक्षा बिकल्पको रुपमा स्वीकार्ने सम्भावना बढ्ने छ ।

बिश्वले अपनाउदै आएका परिस्कृत बिमा अवधारणा र उच्चतम प्रबिधिलाई नेपालका जीवन बीमा कम्पनीले अनुसरण गरे सामाजिक सुरक्षा र आर्थिक जीवन स्तर वृद्धिमा सहयोग पुग्ने छ जसलाई सरकारले नीतिगत रुपमा सहजिकरण गर्ने र नियमन गर्न पनि उतिकै जरुरी पनि छ ।

                                                   (लेखक समाजशास्त्रि, सहकारीकर्मी तथा बिमाक्षेत्रका जानकार ब्यक्ति हुन )