काठमाडौँ। चालू आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा ७ हजार ८० वटा विद्युतीय सवारी (कार, जीप र भ्यान) नेपाल भित्रिएका छन्।

भन्सार विभागले हालै प्रकाशन गरेको फागुन मसान्तसम्मको तथ्यांक अनुसार १६ अर्ब ६४ करोड ३२ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी नेपालमा आयात भएका छन् ।

९ महिनाको अवधिमा भित्रिएको ७ हजार ८० वटा इभि गत आवको सोही अवधिको तुलनामा भने १०.०२ प्रतिशत बढी हो। गत आवको फागुन मसान्तसम्ममा १५ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हजार ४३५ वटा इभि भित्रिएका थिए ।

विभागको तथ्यांक अनुसार फागुन महिनामा मात्रै ८२४ वटा इभि आयात भएको छ । गत माघ मसान्तसम्ममा भने १४ अर्ब ७५ करोड ३ लाख रुपैयाँ बराबरको ६ हजार २५६ वटा इभि आयात भएका थिए ।

नेपालमा चीन, भारत, कोरिया, जर्मनी, र अमेरिका लगायतका केही मुलुकबाट इभि आयात हुदै आएको छ ।

नेपालमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटका इभिहरु आयात भएका छन् । समीक्षा अवधिमा ९ अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरको ३ हजार ८७९ वटा इभि आयात भएका छन् ।

विभागका अनुसार ५० किलोवाट क्षमताका ४ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ बराबरको २ हजार ५३१ वटा आयात भएका छन् । यस्तै, १०१ देखि २०० किलोवाटका २ अर्ब २८ करोड ९४ लाख रुपैयाँ बराबरको ६५४ वटा  इभि आयात भएका छन्।

नेपालमा चीनबाट सबैभन्दा धेरै इभि आयात हुने गरेको छ। आठ महिनामा चीनबाट ५ हजार २६९ वटा इभि आयात भएका छन् । भने भारतबाट १ हजार ७७५ वटा इभि आयात भएका छन्।