काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति असन्तुष्टि जनाउँदै विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (एलटीभी) ८० प्रतिशत कायम गर्न आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा व्यक्तिगत तथा सबै प्रकारका विद्युतीय सवारी साधनमा एलटीभी ६० प्रतिशत सीमित गर्ने निर्णय गरेको छ। नाडाले यो व्यवस्थाले विद्युतीय सवारी साधनको व्यवसायलाई मर्का पार्ने र व्यवसायीलाई निरुत्साहित बनाउने देखिएको बताएको छ ।

सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन यएशोसिएशनले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरूको ऋण मूल्य अनुपातको सीमालाई ५० प्रतिशतबाट ७५ प्रतिशत पु¥याउनका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्दै आएकोमा राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनहरूको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गर्दा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरूको सन्दर्भमा सराहनीय भएता पनि विद्युतीय सवारी साधनहरूको सम्बन्धमा ठुलो मर्का पर्ने अवस्था सिर्जना भएको छ नाडाले बताएको छ ।

संघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सरकारले हरित ऊर्जालाई उच्च प्राथमिकता दिने नीति लिएको भए पनि राष्ट्र बैंकको नयाँ नीतिले त्यसलाई कमजोर बनाउने देखिन्छ । यसबाट विद्युतीय सवारीसाधनको प्रयोगमा निश्चित रूपमा गिरावट आउनेछ ।’ नाडाले विद्युतीय सवारीसाधन व्यवसायलाई प्रोत्साहन गर्न तथा लगानी सुरक्षाका लागि राष्ट्र बैंकलाई पूर्ववत् ८० प्रतिशत ऋण मूल्य अनुपात कायम राख्न आग्रह गरेको छ ।