काठमाडौं । आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो । त्यसको तीन साता पछि बैठक बस्न लागेको हो ।
शैक्षिक हड्ताल गरेर काठमाडौंका सडकमा प्रदर्शन गरिरहेका शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । तीन सातादेखि सडकमा उत्रिएका शिक्षकलाई विश्वासमा लिन सरकारले अधिवेशन अघि सारेको हो । साथै, अधिवेशनको सुरुआतीमै विधेयक पारित गर्ने निर्णय पनि गरेको छ । तर, शिक्षकहरुले भने विश्वास गरेका छैनन् । आन्दोलन जारी राखेका छन् ।
बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।







