काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यही वैशाख २८ गते दिउँसो २ बजेका लागि  अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो । वैशाख २ गते हिउँदे अधिवेशन अन्त्य भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा मुछिएका कारण छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग प्रमुख प्रतिपक्ष कांग्रेसले राखेपछि सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको थियो । कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म संसद् अगाडि बढ्न नदिने बताएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पछि हटेको थियो ।

समिति बनाउन भन्दा संसद् अधिवेशन नै अन्त्य गर्न प्रचण्ड सरकार लागेको थियो । त्यो सँगै लगानी सम्मेलनको लागि विधेयक संशोधन नगरी संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याइएको थियो ।

बजेट अधिवेशन बस्ने भएसँगै सरकारले कांग्रेसले राखेका माग सम्बोधन गरेर अगाडि बढ्छ वा जबरजस्ती आम मान्छेको चासोको विषय बनेको छ । गृहमन्त्री रवि लामिछानेका सहकारी प्रकरणका एक पछि अर्को घटना बढ्दै गइरहेका कारण सरकारलाई थप सकस परेको देखिएको छ ।