काठमाडौँ । वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा ११ महिनामा तीन खर्ब ७६ अर्ब २९ करोड रुपैयाँको वृद्धि आएको छ। नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार, जेठ महिनामा मात्र ३६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ।
गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ थियो। चालु आवको जेठ मसान्तसम्ममा यो कर्जा प्रवाह ८.२३ प्रतिशतले वृद्धि भई ४९ खर्ब ४७ अर्ब २० करोड पुगेको छ।
साउन महिनामा दुई अर्ब रुपैयाँले वृद्धि भएको कर्जा प्रवाह भदौमा ५३ अर्ब, असोजमा ५६ अर्ब र मंसिरमा ४२ अर्बले बढेको थियो। कात्तिक र वैशाखमा भने क्रमशः दुई र चार अर्बले घटेको थियो। चैतमा ६५ अर्ब र जेठमा ३६ अर्बले कर्जा प्रवाह बढेको छ।
११ महिनाको अवधिमा वाणिज्य बैंकहरूको कुल निक्षेप ५ खर्ब ३ अर्ब ३९ करोडले बढेर ६२ खर्ब ५८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। गत आवको असार मसान्तसम्म यो रकम ५७ खर्ब ५४ अर्ब ७७ करोड थियो। जेठ महिनामा मात्र एक खर्ब १५ अर्ब रुपैयाँ निक्षेप थपिएको तथ्यांकमा उल्लेख छ ।
साउनमा ३९ अर्बले घटेको निक्षेप भदौमा ७३ अर्ब, असोजमा १ खर्ब ३३ अर्ब, मंसिरमा ३३ अर्ब, चैतमा ८३ अर्ब र जेठमा उल्लेख्य रूपमा वृद्धि देखिएको हो। पछिल्लो समय रेमिट्यान्स आप्रवाह र सरकारी खर्च बढेकाले बैंकहरूमा निक्षेप उल्लेख्य रूपमा वृद्धि भएको हो।
नेपाल राष्ट्र बैंकले चालु आवमा कर्जा प्रवाह १२.५ प्रतिशतले बढ्ने प्रक्षेपण गरे पनि लक्ष्य अनुरूप प्रगति भने हुन सकेको छैन । आर्थिक वर्षको अन्त्यतिर बैंकहरू कर्जा प्रवाहभन्दा असुलीमा बढी ध्यान दिने भएकाले यो वर्ष पनि कर्जा लक्ष्य नपुग्ने देखिएको छ।







