काठमाडौँ । वस्तु निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (जेठ मसान्त) सम्म कुल वस्तु निर्यात ७७.८ प्रतिशतले बढेर २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा निर्यात ३.० प्रतिशतले घटेको थियो। उता, यस अवधिमा वस्तु आयात पनि १३.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा आयात १.८ प्रतिशतले घटेको थियो।

साथै, ११ महिनाको अवधिमा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले बढेर १३ खर्ब ९७ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा व्यापार घाटा १.७ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा निर्यात/आयात अनुपात १५.१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ९.६ प्रतिशतभन्दा उल्लेख्य रूपमा सुधार भएको हो।