काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नाफा वृद्धि गरेको छ। संस्थाले उक्त अवधिसम्ममा २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।
गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा १९.६३ प्रतिशतले वृद्धि भएको देखिन्छ। लघुवित्तको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। गत वर्षको पहिलो त्रैमासिकमा ८ करोड २८ लाख रुपैयाँ रहेको आम्दानी चालू आर्थिक वर्षमा ३१.३२ प्रतिशतले बढेर १० करोड ८७ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी, कुल सञ्चालन आम्दानी ९ करोड ७२ लाख रुपैयाँबाट बढेर १२ करोड १९ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि गत वर्षको २ करोड ४२ लाख रुपैयाँबाट बढेर २ करोड ९० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।
लघुवित्तको वितरणयोग्य नाफा ५२ लाख रुपैयाँबाट ८४ प्रतिशतले बढेर ९६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, प्रति शेयर आम्दानी (EPS) १८.२७ रुपैयाँबाट बढेर १९.९६ रुपैयाँ पुगेको छ भने खराब कर्जा अनुपात ४.२४ प्रतिशतबाट बढेर ६.४० प्रतिशत पुगेको छ।
कम्पनीको प्रति शेयर नेटवर्थ १९१.५१ रुपैयाँ रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ४० करोड ७६ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३७ करोड रुपैयाँ सञ्चिति रहेको छ।






