काठमाडौं। यस साता शेयर बजारमा गिरावट देखिए पनि कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ। साताभरको उतार–चढावपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.३९ प्रतिशत अर्थात् ३७.६३ अंक घटेर २६७१.०७ विन्दुमा बन्द भएको छ। गत साता २७०८.७० विन्दुमा बन्द भएको बजार यस साता ५ कारोबार दिनमध्ये ४ दिन ओरालो लाग्यो भने १ दिन मात्रै हरियो रह्यो। सेन्सेटिभ इण्डेक्स ३.७६ अंक घट्दा फ्लोट इण्डेक्स २.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंकले घटेका छन्।
कारोबारमा भने उत्साह
परिसूचक घटेपनि लगानीकर्ताको सक्रियता भने बढेको देखिएको छ। गत साता दैनिक औसत ९ अर्ब १ करोड रुपैयाँको कारोबार भएकोमा यस साता दैनिक औसत १० अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जुन १२.८७ प्रतिशतले बढी हो। दैनिक औसत कारोबार भएको शेयर संख्या १२.८९ प्रतिशत तथा कारोबार संख्या १.९० प्रतिशतले बढेको छ।
बजार पूँजीकरणमा गिरावट
साताको अन्त्यसम्म नेप्सेको कुल बजार पूँजीकरण ६३ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ८४ अर्ब रुपैयाँमा सीमित भएको छ। गत साता यो ४५ खर्ब ४७ अर्ब रुपैयाँ थियो।
उपसमूहगत अवस्था
१३ उपसमूहमध्ये यस साता १२ उपसमूह ओरालो लाग्दा १ उपसमूह मात्रै बढेको छ। जलविद्युत उपसमूह ०.३२ प्रतिशतले बढेर ३५९३.०५ विन्दुमा पुगेको छ। विपरीत, होटल तथा पर्यटन उपसमूह सर्वाधिक ६.१५ प्रतिशतले घट्दै ७२१४.४५ विन्दुमा झरेको छ, जुन अंकका आधारमा पनि सबैभन्दा ठूलो गिरावट हो।
यसै साता साहस ऊर्जा लिमिटेड को ७९ लाख ३८ हजार कित्ता बोनस शेयर र सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स सन्तुलित योजनाको १२ करोड ५० लाख इकाई सूचीकृत भएका छन्।
सर्वाधिक बढ्ने र घट्ने शेयर
यस साता खानी खोला हाइड्रोपावर कम्पनी को शेयरमूल्य सर्वाधिक २७.१४ प्रतिशतले बढ्दै ३२० रुपैयाँ पुगेको छ। रिडी हाइड्रोपावर को शेयरमूल्य करिब २२ प्रतिशत र हिमालयन उर्जा विकास कम्पनी को ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यता कालिञ्चोक दर्शन को शेयरमूल्य सर्वाधिक १६.४३ प्रतिशतले घटेको छ। साथै बन्दीपुर केबलकार एण्ड टुरिजम करिब १५ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंक को करिब १४ प्रतिशतले घटेको छ।







