काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेती को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बागमती प्रदेश सरकार का मुख्यमन्त्री इन्द्रबहादुर बानिया सँग भेट गरी अटोमोबाइल क्षेत्रका विविध विषयमा विस्तृत छलफल गरेको छ।
चैत्र ९ गते सम्पन्न उक्त भेटमा मुख्यमन्त्री बानियाले नाडाको नयाँ केन्द्रीय कार्यसमिति गठन भएकोमा अध्यक्ष उप्रेतीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गरेका थिए। उनले ५० वर्षे इतिहास बोकेको नाडाले राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै शासन व्यवस्थाको अनुभव हासिल गरेको उल्लेख गर्दै संस्थाको प्रशंसा समेत गरे।
छलफलका क्रममा मुख्यमन्त्री बानियाले देशभर दर्ता हुने करिब ५० प्रतिशत सवारीसाधन बागमती प्रदेश मै केन्द्रित रहेको उल्लेख गर्दै राजधानी क्षेत्रमा ट्राफिक व्यवस्थापन, पार्किङ अभावलगायत समस्या समाधानका लागि प्रदेश सरकार र नाडाबीच सहकार्य आवश्यक रहेको बताए। साथै उनले आवश्यक जनशक्ति उत्पादन, रोजगारी सिर्जना तथा सवारी चालक ट्रायल सेन्टर स्थापना जस्ता क्षेत्रमा पनि सहकार्य गर्न सकिने धारणा राखे।

सो अवसरमा अध्यक्ष उप्रेतीले नाडामा ७ वटै प्रदेशका गरी २८८३ सदस्य कम्पनी आबद्ध रहेको जानकारी दिँदै नेपालको अटोमोबाइल क्षेत्रमा १ खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको बताए। उनले वार्षिक करिब ५ हजार दक्ष जनशक्तिको आवश्यकता पर्ने उल्लेख गर्दै प्रदेश सरकारसँग सहकार्यका सम्भावित क्षेत्रहरू समेटेर मोडालिटी तयार गरी पेश गरिने जानकारी दिए।
त्यसैगरी नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले प्रतिभा पलायन रोक्न अटोमोबाइल क्षेत्रले योगदान दिइरहेको र नाडाले सीपमूलक तालिम सञ्चालन गरिरहेको बताउँदै प्रदेश सरकारसँग सहकार्यमा अघि बढ्न चाहेको धारणा राखे।
नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठ ले अटोमोबाइल प्रविधि तीव्र गतिमा परिवर्तन भइरहेकाले सोहीअनुसार दक्ष प्राविधिक जनशक्ति उत्पादन चुनौतीपूर्ण रहेको बताए। उनले परिस्कृत पाठ्यक्रम निर्माण भइरहेको उल्लेख गर्दै तालिमका लागि स्रोत र दक्ष प्रशिक्षकको अभाव रहेको औंल्याए।







