काठमाडौं। नेपालमा खाना पकाउने एलपी ग्यासको अभावका देखिन गालेसँगै उपभोक्ताहरू विद्युतीय चुलोतर्फ आकर्षित हुन थालेका छन्। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्मको तथ्यांकअनुसार नेपालमा विभिन्न प्रकारका कुल १ लाख ४७ हजार ८६४ थान विद्युतीय चुलो आयात भएका छन्।
आयातमध्ये सबैभन्दा बढी हिस्सा इन्डक्सन चुलोको रहेको छ। समीक्षा अवधिमा १ लाख ४ हजार ७१७ थान इन्डक्सन चुलो भित्रिएको छ, जसले बजारमा यसको उच्च माग देखाउँछ। त्यस्तै, इन्फ्रारेड चुलोको आयात पनि उल्लेख्य रहेको छ। सो अवधिमा ४२ हजार २१८ थान इन्फ्रारेड चुलो आयात भएको विभागले जनाएको छ।
इन्डक्सन र इन्फ्रारेड बाहेक अन्य प्रकारका विद्युतीय चुलो भने जम्मा ९२९ थान मात्र आयात भएका छन्। आर्थिक पक्षतर्फ हेर्दा विद्युतीय चुलो आयातमा ठूलो रकम बाहिरिएको छ। आठ महिनाको अवधिमा आयात गरिएका चुलोको कुल मूल्य ३० करोड ४१ लाख १२ हजार रुपैयाँ पुगेको छ।
यसमा इन्डक्सन चुलोको आयात मूल्य मात्रै २२ करोड २७ लाख ४ हजार रुपैयाँ रहेको छ भने इन्फ्रारेड चुलोको आयात मूल्य ७ करोड ६७ लाख ७ हजार रुपैयाँ रहेको छ। विद्युतीय चुलो आयातबाट सरकारले ४ करोड ३३ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले जनाएको छ।







