काठमाडौं । निर्माण व्यवसायी ऋषिकेश गौलीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
बुधबार काठमाडौँको पुरानो बानेश्वरबाट पक्राउ परेका गौली आशिष निर्माण सेवा प्रालिका सञ्चालक हुन् ।
उनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको डाटा प्रणालीमा अनाधिकृत पहुँच बनाएर ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अघि नै त्यस्ता प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरीका आधारमा नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ ।
गौलीमाथि संगठित अपराध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका जनाएका छन् ।
उक्त मुद्दामा हालसम्म १० निर्माण व्यवसायीसमेत गरी जम्मा १३ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।







