काठमाडौँ। अप्पर लोहरे खोला हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पनि घाटा व्यहोरेको छ, तर अघिल्लो वर्षको तुलनामा घाटा घटेको देखिएको छ।
सार्वजनिक विवरणअनुसार कम्पनी यस अवधिसम्म ६० लाख ६६ हजार रुपैयाँ घाटामा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीको घाटा २ करोड १५ लाख रुपैयाँ पुगेको थियो।
कम्पनीको घाटा घट्नुमा विद्युत बिक्री आम्दानीमा आएको वृद्धि प्रमुख कारण रहेको छ। समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ९० लाख ४० हजार रुपैयाँभन्दा बढी हो।
त्यसैगरी, वित्तीय खर्चमा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो वर्ष १ करोड १८ लाख रुपैयाँ रहेको यस्तो खर्च घटेर चालु आवमा ६० लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ। यद्यपि कम्पनीको रिजर्भ भने अझै ३ करोड ३१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ।
वित्तीय सूचकका आधारमा हेर्दा, समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.१९ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९३.५० रुपैयाँ कायम भएको छ। मूल्य आम्दानी अनुपात ४५१.३० गुणा ऋणात्मक रहेको छ भने तरलता अनुपात ०.५२ प्रतिशत रहेको कम्पनीले जनाएको छ।







