काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमार्फत केन्द्रीय सदस्य पदमा युवा उद्यमी सागर ढकाल निर्वाचित भएका छन्। नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्षसमेत रहेका उनले वस्तुगत समूहबाट प्रतिनिधित्व गर्दै महासंघमा स्थान बनाएका हुन्।
ढकाल पूँजीबजारसँगै विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय छन्। निर्वाचित भएपछि उनले करिब ७२ लाख लगानीकर्ताको आवाज महासंघमार्फत नीति निर्माण तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख चालक शक्ति र पूँजीबजारलाई त्यसको आधारस्तम्भका रूपमा उल्लेख गर्दै उनले यस विषयलाई सरकार तथा सरोकारवालासामु मजबुत रूपमा प्रस्तुत गर्ने बताएका छन्।
उनले धितोपत्र ऐन २०६३ तथा सम्बन्धित नियमहरूलाई वर्तमान बजारको आवश्यकता अनुसार अद्यावधिक गर्न पहल गर्ने बताएका छन्। साथै मार्जिन ट्रेडिङ, इन्ट्रा–डे ट्रेडिङ, सर्ट सेलिङ र इक्विटी डेरिभेटिभ्सजस्ता आधुनिक वित्तीय उपकरणहरू सञ्चालनमा ल्याउन धितोपत्र बोर्डसँग सहकार्य गर्ने योजना पनि उनले अघि सारेका छन्। यसका साथै कमोडिटी, विदेशी मुद्रा तथा बुलियन एक्सचेन्ज स्थापना गर्न पहल गर्ने लक्ष्य रहेको छ।
साना तथा मझौला व्यवसायलाई पूँजी जुटाउन सहयोग गर्ने उद्देश्यले एसएमई प्लेटफर्म र ओटीसी बजारलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने विषयमा पनि उनले प्राथमिकता दिने बताएका छन्।
विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्तालाई नेपाली पूँजीबजारमा आकर्षित गर्न सहज नीतिगत वातावरण निर्माणमा सरकारसँग सहकार्य गर्ने उनको योजना छ। कम उमेरमै विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका ढकालले जलविद्युत्, होटल, पर्यटन र कृषि लगायतका क्षेत्रमा पनि आफ्नो लगानी विस्तार गरिसकेका छन्।







