काठमाडौँ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य सुधार गर्दै नाफा कमाउन सफल भएको छ।
समीक्षा अवधिसम्म कम्पनीले ७ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा ३९ करोड २७ लाख रुपैयाँ घाटामा रहेको थियो।
यद्यपि कम्पनीको विद्युत बिक्री आम्दानीमा केही गिरावट देखिएको छ। चालु वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ३३ करोड ६ लाख रुपैयाँभन्दा कम हो। अन्य आम्दानी पनि घटेर ३ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ।
तर, वित्तीय खर्चमा आएको उल्लेखनीय कमीले कम्पनीको समग्र नतिजा सकारात्मक बनाउन सहयोग पुगेको छ। अघिल्लो वर्ष १६ करोड ९३ लाख रुपैयाँ रहेको वित्त खर्च घटेर १० करोड १ लाख रुपैयाँमा झरेको छ।
हाल कम्पनीको रिजर्भ भने ७९ करोड ९ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ।
वित्तीय सूचकअनुसार कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३६.७३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८२.२१ रुपैयाँ तथा तरलता अनुपात ०.२३ प्रतिशत रहेको छ।







