काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि गरेको छ। कम्पनीले यस अवधिमा ९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ९४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको नाफा ४ करोड ९२ लाख रुपैयाँ रहेको थियो।
यस अवधिमा कम्पनीको कुल बिक्री आम्दानी ६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष भने बिक्रीबाट ६ अर्ब ७८ करोड रुपैयाँ आम्दानी भएको थियो। साथै, अन्य स्रोतबाट कम्पनीले २३ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ।
खर्चतर्फ हेर्दा कम्पनीले कर्मचारीतर्फ २७ करोड ९२ लाख रुपैयाँ खर्च गरेको छ भने ब्याज खर्च १८ करोड ६३ लाख रुपैयाँ रहेको छ। त्यस्तै, ह्रासकट्टी १ करोड ३ लाख रुपैयाँ र प्रशासनिक खर्च ९ करोड ६६ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको जगेडा तथा मुनाफा कोष १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। वित्तीय अवस्थाअनुसार चालु सम्पत्ति ७ अर्ब ९४ करोड रुपैयाँ र चालु दायित्व ८ अर्ब ४९ करोड रुपैयाँ रहेको देखिन्छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ३६.१९ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ ३७५.७ रुपैयाँ पुगेको छ। प्रतिसेयर कुल सम्पत्तिको मूल्य २,९०६.३० रुपैयाँ र मूल्य–आम्दानी अनुपात (P/E) १८५.०४ गुणा रहेको छ।







