काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताबाट आएको गुनासोपछि माउन्टेन ड्युको एक निश्चित ब्याचको बिक्री तथा वितरण अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।

सामाजिक सञ्जालमा एक उपभोक्ताले उक्त पेय पदार्थ सेवन गरेपछि स्वास्थ्य समस्या देखिएको भन्दै भिडियो सार्वजनिक गरेपछि विभागको ‘र्यापिड रेस्पोन्स टिम’ले तत्काल छानबिन अघि बढाएको थियो।

अनुगमन टोलीले वरुण वेभेरेज (नेपाल) प्रालि को पेप्सीकोला स्थित उत्पादन केन्द्रमा निरीक्षण गरेको थियो। जाँचका क्रममा ब्याच नम्बर १६८ (०३-०४-२६) को २५० मिलिलिटर प्याकमध्ये उद्योगको गोदाममा सीमित परिमाण मात्र बाँकी रहेको र अधिकांश उत्पादन बजारमा पठाइसकिएको पाइएको छ।

विभागका अनुसार उत्पादनमा प्रयोग भएका कच्चा पदार्थहरूको म्याद भने सुरक्षित अवस्थामा रहेको भेटिएको छ। यद्यपि, शंकास्पद ब्याचको गुणस्तर पुष्टि नभएसम्मका लागि सो उत्पादन बजारमा बिक्री नगर्न उद्योग र डिलरहरूलाई निर्देशन दिइएको छ।

उक्त ब्याचका नमूनाहरू संकलन गरी विस्तृत परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। साथै, प्रयोग गरिएका कच्चा पदार्थ र उत्पादन प्रक्रियासम्बन्धी सम्पूर्ण विवरण ५ दिनभित्र पेश गर्न कम्पनीलाई निर्देशन दिइएको विभागले जनाएको छ।