काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा राजनीतिक स्थिरता कायम राख्न कांग्रेसको भूमिका अपरिहार्य रहेको बताएका छन्। काभ्रेको धुलिखेलमा आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित भेलालाई सम्बोधन गर्दै उनले वर्तमान परिस्थितिमा जिम्मेवार राजनीतिक शक्तिका रूपमा कांग्रेसले अगाडि बढ्नुपर्नेमा जोड दिए।
उनले कांग्रेस अरू दलजस्तो केवल प्रतिक्रिया जनाएर पन्छिन नसक्ने स्पष्ट पार्दै देशको अवस्थाप्रति सधैं सजग र उत्तरदायी रहनुपर्ने बताए। “हामीसँग जिम्मेवारीबाट भाग्ने विकल्प छैन,” उनले भने, “देशको अवस्था जस्तोसुकै भए पनि त्यसलाई सम्हाल्ने भूमिका कांग्रेसले लिनुपर्छ।”
थापाले संविधानको मार्गबाट देश विचलित हुन नदिन कांग्रेसले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे। उनका अनुसार सरकार कहिलेकाहीँ संख्याको आधारमा गलत दिशातर्फ जान सक्ने भएकाले त्यस्तो अवस्थामा कांग्रेसले हस्तक्षेप गरी सही ट्र्याकमा ल्याउनुपर्ने हुन्छ।
उनले राजनीतिक स्थायित्व र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि कांग्रेसको सशक्त उपस्थिति आवश्यक रहेको उल्लेख गर्दै पार्टीका नेता–कार्यकर्तालाई अझ जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेका छन्।






