काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकाले एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउने गम्भीर षड्यन्त्र गरेकाे बताएका छन् । मंगलबार रुपन्देहीको बुटवलमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले अमेरिकाले एमसीसीका नाममा नेपाललाई उपनिवेश बनाउने गम्भीर षड्यन्त्र गरेकाे बताउँदै एमसीसीविरुद्ध लड्ने घोषणा समेत गरेका हुन् ।
उनले अमेरिका नेपाललाई उपनिवेश बनाउन एमसीसीका नाममा गिद्धको रुपमा नेपाल आउन लागेको बताए । उनले भने, ‘यहाँ भोलि गिद्धहरु ओर्लदैछन् । अमेरिका एमसीसीका नाममा सहयोग गर्न आउँछ भने स्वागत छ । ५ अरब होइन ५० खरब पनि लिन्छौ तर उपनिवेश बनाउने उद्देश्यका साथ, नेपालका नियम कानुन मिच्दै आउँछ भने हामी त्यसको विरोध गछौँ ।’
उनले एमसीसी र वीआरआइले निस्वार्थ सहयोग गर्दा कुनै आपत्ति नहुने पनि बताए ।