काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले सरुवा माग गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले सरुवा माग गर्दै सामुहिक रुपमा भन्सार विभागका महानिर्देशकलाई पत्र पठाएका हुन् ।
भदौ १२ गते विमानस्थल भन्सार कार्यालयका २८ भन्सार अधिकृतसहित १३७ जनाले सामुहिक रुपमा पत्र पठाएका हुन् ।
६० किलो सुन भन्सार छलेर जाँचपास भएको भन्ने घटनापछि विभिन्न निकायबाट गरिएका अनुसन्धानको बहानामा आफूहरुलाई बिना कारण दुःख दिएको कार्यले कार्यालयमा रहेर कामकाज गर्न कठिनाइ भएको उनीहरुको भनाइ छ ।
विभागका महानिर्देशकलाई लेखिएको पत्रमा भनिएको छ, ‘सो घटनामा दोषी जो कोहीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो दुई मत रहेन तर कर्तव्य पालनाको सिलसिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुन्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदैसमेत पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भइ तोकिएको कार्यजिम्मेवारी पूरा गर्न हामी कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ ।’







