काठमाडौँ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश भएको छ । नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले दुवैको संयुक्त आर्थिक सहयोगबाट कार्यान्वयन गर्न लागिएको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा गरेका हुन् ।
नेपाल सरकार र एमसीसीबीच एमसीसी नेपाल कम्प्याक्टको पूर्वतयारी चरणमा यथेष्ट प्रगति भएको सहमतिपछि साे घोषणा गरिएको हो ।
अर्थमन्त्री डा. प्रकाश शरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष श्री क्यामेरोन अल्फोर्डले आज अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको सम्पस्थितिमा आयोजित एक विशेष समारोहमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदानप्रदान गरे । ‘कार्यान्वयनमा प्रवेश’ ले पाँच वर्षको समयसीमाभित्र कम्प्याक्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न हुने सुनिश्चितताका लागि पूर्व शर्तहरू तथा तयारी कार्य पूरा भएको जनाउने भएकोले यसलाई एमसीसी कम्प्याक्टका सन्दर्भमा महत्वपूर्ण कोशेढुङ्गाका रूपमा लिइएको छ ।
उक्त अवसरमा अर्थमन्त्री डा. महतले भने, ‘राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषित विद्युत् प्रसारण आयोजना र नेपालको रणनैतिक सडक सञ्जालमा लगानी गर्ने सडक मर्मत आयोजनाको औपचारिक कार्यान्वयन शुभारम्भ भएको घोषणा गर्न पाउँदा खुसी लागेको छ ।’
अर्थमन्त्री डा. महतले नेपालको आर्थिक विकासलाई सघाउने एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमका आयोजनाहरूले सडक स्तरोन्नति तथा भरपर्दो विद्युत् आपूर्तिमार्फत नेपाली जनतालाई लाभान्वित गर्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा सहभागी हुँदै नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले भने, ‘अमेरिका र नेपालबीच ७५ वर्षभन्दा बढी समयदेखि बलियो मैत्रीपूर्ण सम्बन्ध छ र हाम्रो मित्रताको एउटा उत्साहवर्द्धक कोशेढुङ्गा एमसीसी नेपाल कम्प्याक्ट हो । यसले दीर्घकालका लागि नेपालको समृद्धिलाई उकास्नेछ र विद्युत् तथा यातायातमा नेपाली जनताको पहुँचमा सुधार गर्नेछ । आज यस महत्वपूर्ण कोशेढुङ्गा घोषणा कार्यक्रममा सहभागी हुन पाउँदा निकै हर्षित छु र नेपालको आर्थिक विकासमा कम्प्याक्टले उल्लेख्य प्रभाव पार्ने अपेक्षा गर्दछु ।’
सिंहदरबारमा एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश गरिरहँदा एमसीसी कार्यान्वयनविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता माइतीघरमा भेला भएर एमसीसी विरुद्ध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा नेकपाका महासचिव विप्लव, नेता प्रकाण्ड, धर्मेन्द्र बास्तोला लगायत सहभागी थिए ।
अर्थमन्त्री डा.प्रकाश शरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले सिंहदरबारमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदानप्रदान गरेका छन् ।









