काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । नेपाल प्रहरीसहित विभिन्न निकायहरू सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै आन्दोलित भएका हुन् ।
उनीहरूले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै आइतबार सांकेतिक विरोध स्वरुप ३ घण्टा पेन डाउन गरेका छन् ।
उनीहरुले सार्वजनिक गरेको विरोधका कार्यक्रमबारे विमानस्थल कार्यालयसहित भन्सार विभाग र अर्थ मन्त्रालयमा जानकारी दिएका छन् । कर्मचारीले संयुक्त रुपमा २५ र २६ भदौ (भोलि र पर्सी) कार्गो जाँचपास शाखामार्फत हुने निकासी तथा पैठारीको काम बन्द गर्ने कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।
उनीहरुले २७ भदौभित्र मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित हुन सक्ने चेतावनी दिएका छन् ।
मागपत्रमा भनिएको छ, ‘यसबाट हुन सक्ने क्षति तथा यात्रुलाई पर्न जाने असुविधाका लागि सम्बन्धित पक्ष स्वयम् जिम्मेवार हुनुपर्नेछ, यस सम्वन्धमा बिरोधका थप कार्यक्रमहरु क्रमशः प्रकाशन गरिनेछ ।’
गत २ साउनमा विमानस्थलबाट ६१ किलो सुन लुकाई ल्याएको ‘ब्रेक सु’ जाँचपास भएपनि विमानस्थलका कर्मचारीहरुले असल नियतले गरिएका दैनिक प्रशासनिक कामलाई समेत हतोत्साहित गर्ने वातावरण तयार गरिएको आरोप लगाउँदै आएका छन् ।
कर्मचारीहरुको मनोबल गिराउने, आत्मसम्मानमा ठेस पुर्याउने, विभिन्न निकायबाट निरन्तर हस्तक्षेप गर्ने काम भएको उनीहरुको गुनासो छ ।
‘कार्यलयमा राजस्व असूलीको असल नियतले भन्सार ऐन नियम तथा अन्य प्रचलित कानुनबमोजिम गरिएको नियमित कार्यलाई अनुसन्धानको बहानामा तथा अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी निर्दोष कर्मचारीहरुलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिने लगायतका कार्य अविलम्ब बन्द हुनुपर्छ,’ उनीहरुले पेश गरेको माग पत्रमा भनिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिना प्रमाण केही कर्मचारीहरु गिरफ्तार गरी हिरासतमा लिएको उनीहरुको आरोप छ । ‘के–कति कारणले गिरफ्तार गरेको हो ? सो विषय कर्मचारी कार्यरत कार्यलयलाई समेत जानकारी नदिई अमानवीय तथा अपराधिलाई जस्तै निकृष्ट व्यवहार गरी गिरफ्तार गरेको हुँदा यस्ता कार्य अविलम्ब बन्द हुनुपपर्छ,’ मागपत्रमा भनिएको छ ।









