काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा वीरगञ्ज नाकाबाट भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ ।

भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ११ अर्ब ९९ करोड १८ लाखको ५ करोड ६० लाख ६६ हजार लिटर भटमासको तेल निर्यात भएको हो ।

गत आवको ६ महिनाको अवधिमा ३ करोड ११ लाखको एक लाख एक हजार तीन सय एक लिटर भटमासको प्रशोधित तेल निर्यात भएको थियो ।

चालू आवको ६ महिनाको अवधिमा भटमासको तेल प्रशोधित मात्रै नभएर सूर्यमुखीको प्रशोधित तेलको निर्यात पनि बढेको छ ।

चालू आवको ६ महिनाको अवधिमा ३ अर्ब २१ करोड ९१ लाखको दुई करोड २८ लाख ४५ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ ।

गत आवको सोही अवधिमा भने ९ करोड ९४ लाख १० हजार मूल्य बराबरको सूर्यमुखीको तेल निर्यात भएको कार्यालयले जनाएको छ ।