काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा भन्सार कार्यालय पर्साको प्रशासनले ५६ करोड १ लाख ६ हजार ९ सय रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
उक्त रकम बराबरको राजस्व छलेर ल्याइएका सामान बरामद गरिएको भन्सार कार्यालयले जानकारी दिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले उक्त अवधिमा भन्सार छली गरेका तथा बिलबिजक अनुसार नभएका सामान बरामद गरेको जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार ५६ करोड रुपैयाँभन्दा बढीका अवैध सामान बरामद गरिएको छ । जिल्लाको एक सय सात किलोमिटर क्षेत्र भारतसँग खुला सिमाना जोडिएको छ। सीमित सुरक्षाकर्मीको सहयोगमा चोरी पैठारी नियन्त्रण गरिरहेको समेत अधिकारीले जानकारी दिएका हुन ।
नेपाल प्रहरीले हालसम्म अवैध चोरी तस्करी तथा बिलबिजकभन्दा धेरै सामान ल्याएको भन्दै ३६ करोड ३९ लाख ८९ हजार ९ सय ६९ रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बलले पनि चोरी तस्करी तथा बिलबिजक अनुसार नभएका १९ करोड ६१ लाख १६ हजार ४० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको जानकारी दिएको छ ।