काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका मजदुरहरूको हडतालले कुरियर सेवा ठप्प बनेको छ।

भन्सार कार्यालय र कार्गो कम्प्लेक्सको निकासी तर्फको एउटा एक्स-रे मेसिन बिग्रिएपछि काममा कष्ट भएको उल्लेख गर्दै विमानस्थलका मजदुरहरूले वैशाख २ गतेबाट हडताल सुरु गरेका हुन । दुई दिन यता कुरियर सेवा ठप्प भएसँगै नेपाल कुरियर सेवा संघले आज एक विज्ञप्ति जारी गर्दे उक्त समस्या समाधानको लागि यथाशीघ्र पहल गर्न आग्रह गरेको छ

विगत लामो समयदेखि विमानस्थलमा रहेको एउटा मेसिन बिग्रिएर दैनिक निकासीको कार्यमा बाधा भइरहे पनि नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले भने कुनै चासो नदेखाएको संघका अध्यक्ष दुर्गा प्रसाद सुवेदीले गुनासो व्यक्त गरेका हुन ।

सुवेदीका अनुसार संघले नेपालको निकासी नै ठप्प हुनसक्ने ब्यहोरा सहित सम्बन्धित निकायहरूलाई यस अघि नै पटक पटक मौखिक र लिखित जानकारी गराउँदै आएको छ ।

“नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण जहाजहरूको कार्गो लोड निल भएको कारणले विदेशमा समेत नेपालको बारेमा नकारात्मक सन्देश गएको र अर्को तर्फ एक्स-रे मेसिनको कारणले कुनै पनि देशको निकासी हुन नसक्नु र यसले हामी कुरियर व्यवसायीहरूलाई प्रत्यक्ष असर गरेको तथा समग्र देशको अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने पर्ने हुँदा उक्त समस्या समाधानको लागि यथाशीघ्र आवश्यक पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ” विज्ञप्तिमा उल्लेख छ ।