काठमाडौँ । इजरायलले मच्चाइरहेको आतंकवादी हमला र नरसंहारको सिलसिला तत्काल रोक्न मानवअधिकारकर्मीहरुले माग गरेका छन् । नेपालका पत्रकार तथा मानवअधिकारकर्मीहरुले इजरायलले मच्चाइरहेको आतंकवादी हमला र नरसंहारको सिलसिला तत्काल रोक्न माग गरेका हुन् ।
बिहीबार दुई दर्जनबढी पत्रकार तथा मानवअधिकारकर्मीहरुले एक विज्ञप्ति जारी गर्दै प्यालेष्टाइनी जनतामाथिको नरसंहार तत्काल रोक्न माग गरेका हुन् ।
उनीहरुले तत्काल युद्धविराम गरी गाजा क्षेत्रमा मानवीय सहायता लाने बाटो खोल्न इजरायललाई दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अपिलसमेत गरेका छन् । साथै उनीहरूले आफूहरु प्यालेष्टाइनी जनताका अधिकारको पक्षमा रहेको बताएका छन् ।
उनीहरुले भनेका छन्, ‘प्यालेष्टाइनीहरुलाई अलग राज्यका रुपमा संगठित हुने अधिकार विना त्यसक्षेत्रमा संघर्ष रहिरहनेछ भन्ने हामीलाई विश्वास छ ।’
विज्ञप्तिमा भनिएको छ, ‘हामी हमास आतंकवादीहरुसँग अपहरण गरिएको सम्पूर्ण गैरसैनिक नागरिकहरुलाई तत्काल बन्धक अवस्थाबाट मुक्त गर्न माग गर्दै उनीहरुले इजरायलमा गैरसैनिक नागरिकमाथि गरेको आक्रमण, १० जना नेपालीुहित गैरसैनिक नागरिकहरुको हत्या र अपहरणको भर्त्सना गर्छौं ।’
उनीहरुले इजरायल र प्यालेष्टाइनबीच दुई अलग र स्वतन्त्र राज्यको अवधारणाका आधारमा समस्या समाधान गरेमात्र पश्चिम एसियामा दिगो शान्ति स्थापना हुनेमा विश्वास गर्न सकिने समेत बताएका छन् ।