काठमाडौँ। इजरायलले लेबनानमा गरेको आक्रमणका कारण २३ जनाको मृत्यु भएको छ। त्यसमध्येमा ७ जना बालबालिका रहेका छन् ।
राजधानी बेरुतको उत्तरी क्षेत्र बायब्लोस नजिकको नामक स्थानमा इजरायलले आक्रमण गर्दा २३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेको छ । यता, इजरायलको रक्षा बलले भने हिजबुल्लाह बसेको स्थानमा आक्रमण गरेको दाबी गरेको छ ।
सर्वसाधारण नागरिकलाई क्षति नपुगोस् भनेर पर्याप्त ध्यान दिइएको इजरायलको दाबी छ। त्यसअन्तर्गत हवाई निगरानी र सटिक गुप्तचर परिचालन गरिएको थियो । इजरायलले पछिल्लो समय इरान समर्थित लेबनानको सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।
शनिबार मात्रै इजरायलले गरेको आक्रमणमा ५३ जनाको मृत्यु भएको थियो । इजरायलले हमासविरुद्ध गाजा क्षेत्रमा पनि आक्रमण जारी राखेको छ । आइतबार दुई वटा घरमा आक्रमण हुँदा ३० जनाको मृत्यु भएको थियो ।
गत वर्ष अक्टुबर ७ मा प्यालेस्टाइन भूमिबाट इजरायलमा घुसेर हमास लडाकुहरुले आक्रमण गर्दा १० नेपालीसहित करिब १ हजार २०० जनाको मृत्यु भएको थियो । हमासले आक्रमण गरेलगत्तै इजरायलले युद्धको घोषणा गर्दै गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । इजरायलको आक्रमणबाट हालसम्म ४४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।