काठमाडौं । नेपाल रिपब्लिक मिडियाले बैशाख ३१ गतेदेखि बिक्री गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज जेठ १४ गते आवेदन दिने अन्तिम दिन रहेको छ ।

कम्पनीले जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो । जसमध्ये सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपालीहरुले ४ लाख ३५ हजार ३ सय कित्ता सेयरमा आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।