काठमाडौँ । कञ्चनपुरको ”दोधारा चाँदनी” नाका सुदूरपश्चिमको मात्र नभई मुलुकको आर्थिक नाकाका रूपमा विकास हुने गरी काम अघि बढेको परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले जानकारी दिएका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दोधारा चाँदनी सुख्खा बन्दरगाह प्रक्रिया अघि बढ्नुका साथै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको बताएका छन्।
“भारतीय पक्षले पनि सोही अनुसार भारततर्फ पनि काम अघि बढाएको छ ।” मन्त्री साउदले भने, “कञ्चनपुर आर्थिक, पर्यटकीयलगायत धेरै ज्यादा सम्भावना बोकेको क्षेत्र हो ।”
दोधारा चाँदनी नाका तीव्र गतिमा खुल्ने सन्दर्भमा अघि बढेको जनाउँदै मन्त्री साउदले बनबासा पुलमा आवागमन सहज बनाउनेदेखि विदेशी पर्यटकलाई नाकामा आउन जान सहज गर्ने विषयमा पहल गर्ने बताएका छन् ।
“यो मानशखण्ड क्षेत्रको विकासमा योजना बनाएर नेपाल–भारत पर्यटकीय संयन्त्रको विकास गर्ने गरी काम अघि बढेको छ।” उनले भने– “भारतको पूर्णा गिरी र डडेलधुराको परशुराम धाम क्षेत्र जोड्न महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय पक्षसित निरन्तर समन्वय भइरहेको छ ।”






