काठमाडौं । नविल बैंकले कर्जा असुली हुन नसकेका कर्जाको धितो बापतको गैर बैंकिङ बैंकिङ सम्पत्ती बोलकबोल मार्फत लिलाम बिक्री गर्ने भएको छ ।

बैंकले आज सार्वजनिक गरेको सूचना अनुसार नेपालभरका ५२ वटा घर तथा जग्गाका प्लटहरु बिक्री गर्ने जनाएको छ । बैंकले बोलपत्रका लागि आह्वान गरिएको घरजग्गाका लागि आजको मितिबाट १५ दिन भित्रमा बोलपत्र पेश गर्न सकिने जनाएको छ ।

बोलपत्र सम्बन्धी शर्तबन्देज सहितको बोलपत्र फारम नबिल बैंकको कर्जा असुली विभाग बिजुलीबजार काठमाडौंबाट प्राप्त गर्न सकिने बैंकको सूचनामा उल्लेख छ । शिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको मितिले १५ अर्थात यहि पुस २२ गते आइतबारसम्ममा बुझाइ सक्नु पर्नेछ ।

बोलपत्रमा आफुले सकार गरी लिन चाहेको सम्पत्ती के कति रकममा खरिद गरी लिन चाहेको हो सो को अंक तथा अक्षरमा स्पष्ट सँग लेखिएको हुनुपर्नेछ । आफुले कबोल गरेको रकमको कम्तिमा १० प्रतिशतले हुन आउने रकम धरौटी बापत बैंकमा जम्मा गर्नु पर्ने शर्त तोकिएको छ ।

भोलि लिलाम सकार्ने व्यक्तिको नाममा स्वामित्व हस्तान्तरण गर्दा सरकारी कार्यालयमा लाग्ने सम्पुर्ण शुल्क तथा दश्तुर आफुले तिर्नु पर्ने बैंकले जनाएको छ । बैंकले लिलाम गर्न थालेको घर तथा जग्गा काठमाडौंको नाम चलेका स्थानदेखि उपत्यका भन्दा बाहिरका जिल्लाहरु समेत रहेका छन् । जसमा काठमाडौं, ललितपुर तथा भुक्तपुरमा रहेका घर तथा जग्गा समेत छन् ।