काठमाडौं । सेयर धितोमा ८१ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा उक्त रकम बराबारको कर्जा प्रवाह भएको हो ।
असार मसान्तको तुलनामा मंसिर मसान्तसम्ममा सेयर धितोमा जाने कर्जा ६.४ प्रतिशतले बढेर ८१ अर्ब १९ करोड ४ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा सेयर धितोमा जाने कर्जा ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ थियो ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा सेयर धितोमा जाने सबैखाले कर्जा बढेको छ । राष्ट्र बैंकका अनुसार १ करोडभन्दा बढी रकमको सेयर धितोमा जाने कर्जा ७ प्रतिशतले बढेर ४७ अर्ब ८४ करोड ५४ लाख रुपैयाँ पुगेको हो । असार मसान्तमा ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ थियो।
केन्द्रीय बैंकका अनुसार २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ९.६ प्रतिशतले बढेको छ। मंसिरसम्ममा १४ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । असार मसान्तमा १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ थियो ।
यस्तै २५ लाखभन्दा कम धितो कर्जा ६.४ प्रतिशतले बढेको छ । असार मसान्तमा ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह भएकोमा मंसिरमा ७ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकले मौद्रीक नीतिको समीक्षामार्फत ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिमभार १५० बाट घटाएर १२५ प्रतिशत कायम गरेको छ ।
अहिले बैंहरुले धमाधम ब्याजदर घटाउँदै गएका छन् । ब्याजदर घट्दा सेयर धितोमा जाने कर्जा बढ्ने विश्लेषकहरुको भनई छ ।






