काठमाडौं । केन्द्रमा भएको सत्ता समीकरणको असर यति बेला प्रदेश प्रदेशमा देखिन थालेको छ । गण्डकी पश्चात् सुदूरपश्चिम प्रदेशमा समेत नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ।

केन्द्रमा भएको सत्ता समीकरण पश्चात् मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेका हुन्।

मुख्यमन्त्री शाहले पत्रकार सम्मेलन गर्दै मन्त्रीमण्डल पुनर्गठन गरेको जानकारी दिएका छन्। मुख्यमन्त्री शाहले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरे पनि नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्री भने यथावत् राखेका छन्।

सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ।