काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले बजेट कार्यान्वयनका लागि कानुन निर्माण गरेर अघि बढ्ने प्रणालीको विकास गर्न सकेमात्रै यसको कार्यान्वयन सुनिश्चित हुने बताए ।
महामन्त्री थापाले भने, ‘अर्थ मन्त्रालय वा सरकार हामीसँग डराईराखेको देखिरहेको हुँदैन । स्रोत के मा खर्च गर्ने, कसरी खर्च गर्ने ? यावत कानुन बनाउने अधिकार हामीसँग छ । त्यो अधिकारको हामीले प्रयोग गरिरहेका छैनौं । त्यो अधिकारको प्रयोग नगरेको हुनाले सरकारले हामीलाई हेप्छ । जे गरे पनि हुन्छ भन्छ । किनभने पार्लियामेन्ट सिष्टममा सरकारसँग जहिले पनि बहुमत हुन्छ । र, हामी कहाँ क्रस पार्टी काम गर्ने प्रचलन पनि छैन । त्यसैले माननीय सदस्यहरुलाई मेरो आग्रह चाँही यो बजेटत अव पास भएर जान्छ । मन्त्रीलाई पारदिनु है भनेर भन्नु पर्ने अवस्था हामीले आफ्नो हातमा भएको अधिकार प्रयोग नगरेर भएको हो । बजेट प्रणालीमा सुधार गरौं ।’