काठमाडौँ । पछिल्लो समय रोजगारका निमित्त बिदेसिने युवाहरूको सङ्ख्या दिनप्रतिदिन थप हुँदै गइरहेको छ । गरिबी, राजनीतिक अस्थिरता, बेरोजगारी र पहुँचवालाहरूकै हालीमुहाली झन् बढ्दै जाँदा देश छाड्नेको लर्को घटेको छैन, बरु बढेको छ ।

जस अनुसार फागुन महिनामा मात्रै ६५ हजार भन्दा बढी नेपाली वैदेशिक रोजगारी लागी देश बाहिर गएका छन्  ।  वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार फागुनमा ६५ हजार ६५८ जना श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।

त्यसमध्येमा ५८ हजार ८९० जना पुरुष र ६ हजार ७६८ जना महिला रहेका छन् । ३९ हजार ९२० जनाले भने पहिलो पटक श्रम स्वीकृति लिएका छन् । ३१ हजार ८९८ जनाले संस्थागत श्रम स्वीकृति (म्यानपावरमार्फत) लिएर विदेश गएका छन्।

भने सात हजार ४४७ जनाले व्यक्तिगत श्रम स्वीकृति, ५७५ जना जी–टु–जी मार्फत श्रम स्वीकृति लिएर विदेश गएको तथ्याकंमा समावेश छ । एक महिनाको अवधिमा ८५ जना उच्च दक्ष जनशक्ति विदेश गएका छन् ।

त्यस्तै ३४९ प्रोफेसनल, पाँच हजार १६० जना अर्धदक्ष जनशक्ति विदेश गएका छन् । त्यस्तै ४७ हजार ५७७ जना दक्ष र १२ हजार ४८७ जना अदक्ष जनशक्ति वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएको विभागको तथ्याङ्कले देखाएको छ।