काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्ने भएको छ । प्राधिकरणले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ ।

नेपाल बीमा प्राधिकरणका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजु रमण पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले यस सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात प्राधिकरणको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानीहरु मध्ये तलब, भेण्डर भुक्तानी, लगानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सकिनेछ ।

बीमाको क्षेत्रमा नयाँ आयाम थप्दै डिजिटल भुक्तानीको माध्यमको प्रयोगलाई थप प्रोत्साहन गर्न नेपाल बीमा प्राधिकरण र एनसीएचएलसँगको यस सहकार्यले झन टेवा पुर्याउने विश्वास गरिएको छ ।

यस अघि प्राधिकरणले प्रदान गर्ने बीमा एजेन्ट तथा सर्भेयरको लाइसेन्स नवीकरणको अनलाईन भुक्तानी एनसीएचएलको कनेक्ट आइपिएस प्रणाली मार्फत हुने व्यवस्था गरेको थियो र आगामी दिनहरुमा प्राधिकरणले अन्य सेवाहरु पनि क्रमश डिजिटाइज गर्दै लैजाने लक्ष्य लिएको छ ।