काठमाडौँ। एनआईसी एशिया बैंकले आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने मनसायका साथ २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका ऋणीहरूलाई साधारण ब्याज रकममा छुट दिने घोषणा गरेको छ।

बैंकले उक्त छुट दिने कार्यमा केही मापदण्डहरू तोक्दै भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत छुट दिने  जनाएको छ ।

बैंकले ९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेको ऋणको साधारण ब्याज रकममा १५ प्रतिशत छुट दिइने जनाएको छ । त्यसैगरी, १८१ दिनदेखि ३६५ दिन भाखा नाघेको हकमा साधारण ब्याज रकममा २५ प्रतिशत, ३६५ दिनभन्दा बढी भाखा नाघेको हकमा ३५ प्रतिशत साधारण ब्याज रकममा छुट दिइने बैंकले घोषणा गरेको हो ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।

प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा पर्नुभएका ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्न उत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।’