काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गाको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गाको अध्ययन, अनुसन्धान, छानबिन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिले लगत संकलन, संरक्षण, उपभोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् । समिति सदस्यहरूमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीवल्लभ अधिकारी रहेका छन् । त्यस्तै प्रा।डा। प्रेमसागर थापा त्रिवि विज्ञ सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव रहने पनि उनले बताइन।

त्यस्तै मन्त्रिपरिषद्ले प्रचलित कानुन बमोजिम इजाजत प्राप्त गरेका, यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहेकले घर बाहिर लैजान नपाउने निर्णय गरेको छ । यात्रा इजाजत प्राप्त नगरेका हातहतियार समेत तोकिएका स्थानमा नपाउनेगरी निषेध गरिएको उनले जानकारी दिइन् ।

त्यस्तै मन्त्रिपरिषद्ले राजपत्रांकित विशिष्ट श्रेणीका अधिकृतहरू मधुसूदन बुर्लाकोटीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव पदमा, हरिप्रसाद मैनालीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव पदमा र विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रक पदमा सरुवा गर्ने निर्णय गरेको पनि उनले स्पष्ट पारेका हुन् ।