काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्ष २०८१- ८२ का लागि आर्थिक योजना बजेट सङ्घीय संसद्को संयुक्त बैठकबाट पेस गरेको छ । आर्थिक वर्षको तुलनामा नयाँ बजेट ६.२ प्रतिशतले बढी हो। संशोधित अनुमानभन्दा यो २१ प्रतिशतले बढी भएको अर्थमन्त्रीको दाबी छ ।
आर्थिक तथा सामाजिक क्षेत्रमा देखिएका चुनौती सामना गर्दै आम नागरिकमा आत्मविश्वास र आशा जगाउने तथा अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्य राखी तर्जुमा गरिएको यो बजेट कार्यान्वयनमा सम्बन्धित सबैबाट रचनात्मक सहयोग प्राप्त हुने अपेक्षा राखेको अर्थमन्त्री वर्षमान पुनको भनाई छ ।
आर्थिक वर्ष २०८१ ८२ का लागि प्रस्तुत भएको बजेट कति सन्तुलित र चुनौतीपूर्ण छ रु यसको कार्यान्वयन पक्षमा कति सम्भावना छ रु यस विषयमा आर्थिक भ्वाईसले नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीलाई सोधेका छौ ।
आर्थिक वर्ष २०८१-८२ का लागि प्रस्तुत भएको बजेट सामान्यतया यस अगाडिका बजेटको तुलनामा सन्तुलित जस्तो देखिएको छ । यो बाहिरी आवरणको विषय पनि हो । बजारमा बजेटको आकारमा जुन अपेक्षा राखिएको थियो मात्रामा आउन नसकेको साँचो हो तर अहिलेको अवस्थालाई चौतर्फी मात्रामा मूल्यांकन गर्दा म चाहिँ यस किसिमले आउनुलाई स्वागत योग्य नै मान्न पर्छ भन्ने ठान्दछु ।
सरकारले देखाएको हिसाब हाम्रो क्यालकुलेटरले देखाउने हिसाब जस्तो प्रस्ट त हुदैन नै यद्यपि यो पटक त्यति धेरै सरकारले महत्वोकांक्षा नराखेको हो कि भन्न सकिने ठाउँ बनाएको निश्चय नै हो । यस अगाडि निजी क्षेत्रका थुप्रै समस्याप्रति बजेटले सम्बोधन गर्न नसकेको आरोप लाग्दै आएको थियो तर यस पटक भने निजी क्षेत्रकै सबैभन्दा बढी समस्या सुनेको देखिन्छ यस मानेमा बजेटलाई सन्तुलित भन्न सकिन्छ तर धेरै ठाउँमा प्रश्न उठाउनुपर्ने ठाउँ नभएको चाही होइन नै ।
राजश्वको लक्ष्यसमेत चालु आर्थिक वर्षको भन्दा कम रहनु राम्रो पक्ष हो तर ऋण सही ठाउँमा उपयोग हुनुपर्छ। सही ठाउँमा ऋण प्रयोग नभएको खण्डमा आगामी दिनमा अर्थतन्त्रमा असर देखिन सक्छ । सरकारले नेपाल वायु सेवा निगमलाई अभिभावकीय भूमिका प्रदान गर्नुपर्ने र भ्रष्टाचारलाई निर्ममता पूर्वक नियन्त्रण गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
कुन क्षेत्रमा कति बजेट आयो भन्ने मुख्य विषय होइन बरु आएको बजेट सही ठाउँमा प्रयोग हुन्छ कि हुँदैन भन्ने हो । हामीलाई चाहिने त परिणाम हो परिणाम दिन सक्ने अवस्थाबाट बजेटको कार्यान्वयन हुन्छ हुँदैन भन्ने मुख्य प्रश्न हो ।
अहिलेको मुख्य समस्या नै अस्थिर राजनीति र भ्रष्ट्राचार हो । यो दुई समस्याको कारण देशको हालत दिनप्रतिदिन समस्यामा गइरहेको छ । एउटाले कार्य योजनाको शाखा बनाउँछ त्यसको प्रयोग हुन नपाउँदै फेरि सरकार परिवर्तन हुन्छ र फेरि अर्को आएर शून्य अवस्थाबाट योजना निर्माण गर्न थाल्दछ । यस कारणपनी यो समस्या समाधान नभएको अवस्थामा बजेट सही ठाउँमा सदुपयोग हुने मौका कम देखिन्छ ।
हालको अवस्थामा यतिसम्म भन्न सकिन्छ कि बजेट अन्य समयको तुलनामा आशा जगाउने गरी आएको देखिन्छ , अहिले कर्मचारीतन्त्रलाई प्रसयदिने किसिमले मात्रै बनेको छैन यदि ठिक ठाउँमा ठिक ढङ्गले परिणाम नै आउनेगरि सदुपयोग गर्न सकियो भने यसलाई सफल बजेटको रूपमा मान्न सकिन्छ ।







