काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह मेट्रोपोलिस निर्देशक समितिको बैठकमा सहभागी हुन ब्राजिलतर्फ प्रस्थान गरेका छन् ।
असार ५ र ६ गते ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा सहभागी हुनका लागि आज बिहान २ः१५ बजेको उडानबाट मेयर शाह ब्राजिल प्रस्थान गरेका हुन्। बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किने कार्यक्रममा छन् । मेयरका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन् । शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् ।
सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा शाहले सम्बोधन गर्नेछन् । कार्यक्रमअन्तर्गत ‘मेयरल राउण्ड टेवल’ शीर्षकमा बुधवार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा प्रमुख शाहले प्यानलिष्टका रूपमा धारणा प्रस्तुत गर्नेछन् ।
मेट्रोपोलिस विश्वका ठूला महानगरहरूका बिचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तर्राष्ट्रिय संस्था हो।







