काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले श्रम बैंकमार्फत् ९११ जनाले रोजगारी पाएको दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल फेशबुक मार्फत बालेनले ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको जानकारी दिएका छन् ।
उनले श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएको बताएका हुन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको बताएका छन् ।
यस्तै मेयर बालेनले काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामार्फत् दुई हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत एक हजार ४६७ जना र अनलाइनमार्फत दुई हजार गरि जम्मा ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको बताएका छन्।
महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरू रोजगार-स्वरोजगार भएको पनि उनको भनाइ छ । उनले काठमाण्डौं महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्य योजना बनाइ कम्तीमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको बालेनले लेखेका छन् ।








